प्रधान सेनापति सिग्देलद्वारा भारतीय सैन्य एकेडेमीको अवलोकन

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सैन्य एकेडेमीको अवलोकन भ्रमण गरेका छन् ।

शनिबार प्रधान सेनापति सिग्देल भारतको देहरादुनस्थित भारतीय सैन्य एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका हुन् ।

सो अवसरमा सिग्देलले अधिकृत क्याडेटहरूद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गरेका छन् ।

प्रधान सेनापति सिग्देलले नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको नेपाली सेनाको हेडक्वाटरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली सेनाले वि.सं. २०१० सालदेखि भारतीय सैन्य एकेडेमीमा आफ्ना अधिकृत क्याडेटहरुलाई तालिममा सहभागी गराउँदै आइरहेको छ । हालसम्म उक्त एकेडेमीबाट दुईसयभन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरू दीक्षित भइसकेका छन् ।

बाह्र देशका अधिकृत क्याडेटहरू तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेटहरू तालिमरत रहेका छन् ।

Published : Saturday, 2024 December 14, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया