जिल्ला अदालतका न्यायाधीशहरू २०९५ सम्म कोही पनि प्रधान न्यायाधीश हुँदैन : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सर्वोच्च अदालतमा २०९५ सम्म जिल्ला अदालतबाट सेवा सुरु गरेका न्यायाधीशहरू प्रधान न्यायाधीश बन्न नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति खतिवडाले न्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सुधारको आवस्यक्ता रहेको बताए । न्यायाधीश नियुक्तको प्रक्रियाले गर्दा जिल्ला अदालतबाट आएकाहरू प्रधान न्यायाधीश बन्न निकै कठिन रहेको उनले बताए ।

खतिवडाले भने, ‘भरखरै रिटायर्ड हुनु भएका प्रधान न्यायाधीश जिल्ला अदालतबाट करियर सुरुवात गरेर सर्वोच्चको प्रधान न्यायाधीश भएर रिटायर्ड हुनुभयो । अब म देख्दैछु । २०९५ सालसम्म जिल्ला अदालतबाट करियर सुरुवात गरेको कोही पनि न्यायाधीश सर्वोच्च अदालतमा प्रधान न्यायाधीश हुँदैन ।’

‘सर्वोच्च अदालतमा बाहिरबाट होइन अरु उच्च अदालतसम्म ल्याऔँ । सर्वोच्च अदालतबाट सर्वोच्च अदालतमा ल्याउने व्यवस्था गर्नुपर्छ’, सभापति खवितडाले भने ।

उनले भने, ‘न्यायपालिकामा जात हेरेर, सम्प्रदाय हेरे, पार्टी हेरेर, पद्धति हेरेर मान्छे राख्न थालियो भने हाम्रा आस्था सारा टुटेर जान्छन् । नेपालको न्यायपालिका संसारको न्यायापालिकाभन्दा कुनै पनि अवस्थामा कमजोर छैन । जात, धर्म, सम्प्रदायका आधारमा न्यायाधीश नियुक्त हुँदैनन् । क्षमता र योग्यताका आधारमा न्यायाधीश नियुक्ति हुन्छन् ।’

सभापति खवितडाले भने, ‘सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका कुराहरू तपाईहरूको अगाडि सुन्नमा आएका छन् । यहाँ यदाकदा भाई न्यायाधीश र दाई न्यायाधीशका कुराहरू हामीले सुन्नमा आएका छन् । सुन्ने गरेका छौँ ।’

न्यायपालिकामा पनि न्याय दिने क्रममा गल्ती कमजोरी हुन सक्छ भनेर जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत बनाइएको बताउँदै खतिवडाले जनताले आफूलाई जन्मदिने आमा र बाबुलाई भन्दा पनि विश्वास न्यायालयमाथि गर्ने गरेको बताए । उनले न्यायाधीशहरूले न्यायालयको त्यो विश्वास र गरिमालाई बचाउनुपर्ने बताए ।

Published : Friday, 2024 December 13, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया