इयुकाे आकासमा नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध हटाउन परराष्ट्रमन्त्री डा.राणाको कुटनीतिक पहल

ब्रसेल्स । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले युरोपेली आकासमा नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउन आग्रह गरेकी छिन् ।

बेल्जियमको ब्रसेल्समा बिहीबार युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्रासँगको भेटवार्तामा परराष्ट्रमन्त्री डा.राणाले नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध हटाउने विषयमा पहल गर्न आग्रह गरेकी हुन् । प्रतिबन्ध लगाएका कारण नेपालबाट सीधा उडान हुन नसक्दा नेपाली नागरिकलाई युरोप आवातजावतमा समस्या पर्न गएकोप्रति उनले युरोपियन युनियनको ध्यानाकर्षण गराएकी हुन् ।

भेटमा नेपाल इयु सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पु¥याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको निजी सचिवालयले जनाएको छ ।

नेपाल र युरोपियन युनियनले यस बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष मनाइरहेको बारेमा उनीहरूबीच कुराकानी भएको छ । नेपाल र युरोपियन युनियनबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

उनले नेपाल सदैव प्रजातन्त्र, कानूनी शासन र मानवअधिकारका पक्षमा रहेको बताएकी छिन् । परराष्ट्रमन्त्री डा.देउवाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गरेकी छिन् ।

डा.राणाले युरोपियन युनियन नेपालको महत्वपूर्ण विकास साझेदार रहेको बताएकी छिन् । नेपालको आर्थिक सामाजिक क्षेत्रमा युनियनले पुर्‍याउँदै आएको सहयोगका लागि डा.राणाले धन्यवाद दिएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपालका तर्फबाट आफूले केही दिनमात्र अघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि गराएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले कमिसनर ओपकेलाई नेपालमा परेको जलवायु परिवर्तनको असर तथा पछिल्ला वर्षहरूमा यसबाट नेपालले व्यहोर्नुपरिरहेको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा युरोपियन युनियनसँग सहयोगको अपील गरेकी छिन् ।

Published : Thursday, 2024 December 12, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया