मधु, गीता र दीव्या पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाडौंको टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रूपन्देहीको देवदह नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–२८ बस्ने ३२ वर्षीया गीता कुँवर र काठमाडौं महानगरपालिका बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एण्ड स्टडी इन्फो सेन्टरका संचालिका सिराहाको सिरहा नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२२ बस्ने ३० वर्षीया दीव्या यादव रहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये मधुले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपियाँ, गीताले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १६ लाख ५ हजार रूपियाँ र दीव्याले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १५ हजार रूपियाँ लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले मधुलाई काठमाडौंको टोखा नगरपालिका–६ बाट र गीतालाई काठमाडौं महानगरपालिका–२८ बाट मंगलबार तथा दीव्यालाई काठमाडौं न्यूरोडबाट सोमबार पक्राउ गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं र दीव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया