सर्वोच्चको आदेश छलेर गौतम समितिद्वारा लालीगुराँसका ११३ वटा गाई कौडीको भाउमा लिलाम बिक्री
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११३ वटा गाईलाई लिलाम गरेर कौडीको भाउमा बिक्री गरिदिएको छ ।
काठमाडौंबाट समितिका सदस्य ध्रुब आचार्य नेतृत्वको टोली पुगेर सोमबार चितवनमा रहेका गाईहरू कौडीको भाउमा बिक्री भएको हो । ११३ वटा गाईलाई आचार्यको टोलीले जम्मा ८ लाख ७५ हजारमा बिक्री गरेको लालीगुराँसले जनाएको छ ।
लालीगुराँसका अनुसार एउटा गाईको मूल्य ३ लाखभन्दा माथि पर्छ । ३ लाख पर्ने गाईलाई समितिले कौडीको भाउमा बिक्री गरेर लालीगुराँसलाई अन्याय गरेको आरोप लागेको छ ।
गाईहरू बिक्री गरेर आचार्य नेतृत्वको टोलीले दाना र पराललाई भुक्तानी समेत नगरेर काठमाडौं फर्किएको छ । समितिले गाई फार्ममा रहेका बाँकी ३ सय गाईलाई पनि १० दिनभित्र बिक्री गर्ने भनेर हिँडेको छ ।
समितिले गाई फार्मका गाईलाई मात्रै बिक्री गर्न लिलामको सूचना निकालेपछि लालीगुराँसले सूचनाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो । सर्वोच्च अदालतले समितिलाई गाई लिलाम गर्ने लिलाम सूचनाका सम्बन्धमा लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । तर, समितिले सर्वोच्च अदालतको आदेशलाई छलेर ११३ वटा गाई बिक्री गरेर हिँडेको छ ।
फार्म हाउसका गाईलाई कौडीको भाउमा लिलाम गरेपछि फार्म हाउसको भौतिक संरचना र जग्गा संकटमा परेको छ । समितिले ती भौतिक संरचना र जग्गा पनि कौडीको भाउमा लिलाम गर्न सक्ने लालीगुराँसको आशंका छ ।
सरकारले उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमको अध्यक्षतामा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो । समितिले समस्या समाधान र व्यवस्थापनभन्दा पनि समस्या बल्झाउन लागेको भनेर आलोचना भइरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया