कुवेतमा महिलाहरूलाई लगेर बिक्री गर्ने चार जना पक्राउ, घरभित्र श्रम र यौनशोषण

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, बबरमहल, काठमाडौंले कुवेतमा लागेर दुई महिलालाई बेचबिखन गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

मंगलबार ब्यूरोद्वारा जारी विज्ञप्तिअनुसार पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ७ का ५७ वर्षीय चन्द्रबहादुर आले मगर र मोरङको बेलबारी नगरपालिका वडा नं. १ घर भएका ५१ वर्षीय पुष्प बि.क. भन्ने पुष्प सुनार रहेका छन् ।

ब्यूरोको टोलीले पुष्प बि.क.लाई मंसिर १३ गते काठमाडौंको चुच्चेपाटीबाट र चन्द्रबहादुर आले मगरलाई मंसिर १४ गते उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ बाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

चन्द्रबहादुर र पुष्पले पीडित महिलालाई २०८१ भदौ २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई लगेर कुवेतको महिला एजेन्टको फ्ल्याटमा राखेर बेचबिखन गरेको अनुसन्धानका क्रममा खुलेको छ । कुवेतमा चरम शोषणामा परेकी पीडित महिलाको मानसिक अवस्थामा समेत समस्या भएको छ । ती महिलाको उपचार भइरहेको छ ।

कुवेतमा रहेकी महिला एजेन्टले कुवेतस्थित जाहरा सरमा रहेको घरेलु कामको लागि पठाई घर मालिकले घरेलु काममा लगाई चरम श्रम शोषण, यौन शोषण गरी राखेको अवस्थामा पीडितको स्वास्थ्यमा समस्या आई घर मालिकलाई समेत आग्रह गर्दा घरमालिकले ३ लाखमा किनेको भनेर रकम फिर्ता माग गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोको पहलमा पीडित महिलालाई नेपाल फर्काइएको थियो । ब्यूरोका अनुसार पक्राउ परेका पुष्प बि.क.भन्ने पुष्प सुनारको विरुद्धमा यसअघि दुई वटा मुद्दा समेत दर्ता भइ अनुसन्धान भइरहेको छ ।

यसैबीच, ब्यूरोले मानव बेचबिखनको अभियोगमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ६ का २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय माइला लामा पाख्रिन भन्ने टीकाराम तामाङलाई पनि पक्राउ गरेको छ ।

पीडित महिलालाई कुवेतको अलजारा भन्ने ठाउँमा लगेर कुवेती घर मालिकलाई ९ सय के.डी.मा बेचबिखन गरेको ब्यूरोले जनाएको छ । धर्म र टीकारामले पीडितलाई फ्रि भिषा, फ्रि टिकटमा मासिक १२० के.डी. कमाई हुन्छ भनेर कुवेतमा लगेर बिक्री गरेको विज्ञप्तिमा उल्लेख छ ।

पीडित महिलालाई कुवेतमा लगेर बिक्री गरेपछि घरमालिकले चरम श्रम शोषणा, यौन शोषण गरी राखेको अवस्थामा पीडित महिला भागेर कुवेतको प्रहरीले नियन्त्रणमा लिएर नेपाल पठाइदिएको थियो ।

पीडित महिलाको किटानी जाहेरीमा धर्म तामाङलाई मंसिर २० गते लम्जुङको मर्स्याङदी गाउँपालिका ३ र टीकाराम तामाङलाई कास्कीको पोखरा महानगरपालिका १६ लामाचौरबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2024 December 10, 3:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया