कांग्रेसको जनसम्पर्क समितिमा नयाँ व्यवस्था, अध्यक्ष स्वतः महाधिवेशन तथा महासमिति सदस्य हुन नपाउने

काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन तथा महासमिति सदस्य हुने व्यवस्था हटाएको छ ।

बुढानिलकण्ठमा सोमबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको विदेशमा बस्नेका लागि दुई प्रकृतिको सदस्यता हुने निर्णय लिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए । कांग्रेसको क्रियाशील सदस्यता र जनसम्पर्क समितिको सदस्यता गरी दुई प्रकृतिको बनाइएको छ । जनसम्पर्क समिति अध्यक्ष, पदाधिकारी वा सदस्य चयन गर्दा दुवै प्रकृतिको सदस्यता अनिवार्य गरिएको छ ।

गैरआवासीय नेपालीले जनसम्पर्क समितिको मात्रै सदस्यता पाउनेछन् । उनीहरूलाई पार्टीको क्रियाशील सदस्यता बन्न पाउने छैनन् । गैर आवासीय नेपालीले कांग्रेसको क्रियाशील सदस्य हुन पाउने छैनन् ।

सहमहामन्त्री जीवन परियारले गैर आवासीय नेपाली कांग्रेसको जनसम्पर्क समिति सदस्य, पदाधिकारी हुन पाउने तर, महाधिवेशन र महासमिति प्रतिनिधि हुन नपाउने व्यवस्था गरिएको बताए ।

कार्यसम्पादन समिति बैठकले विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन र महासमितिमा हुने सहभागिता संख्यामा नयाँ व्यवस्था गरेको छ ।

कम्तीमा एक सय जना क्रियाशील सदस्य र जनसम्पर्क सदस्य रहेका देशबाट महाधिवेशन र महासमिति प्रतिनिधि १÷१ जना हुने गरी व्यवस्था गरिएको छ ।

पाँच सयभन्दा बढी रहेको देशबाट सात जना महाधिवेशन प्रतिनिधि र तीन जना महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।

दुई हजार वा उक्त संख्याभन्दा बढी क्रियाशील र जनसम्पर्क समिति सदस्य भएका देशबाट महाधिवेशनमा १४ र महासमिति बैठकमा ६ जना सहभागी हुन पाउने गरी नयाँ व्यवस्था राखिएको छ ।

Published : Monday, 2024 December 9, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया