इतिहाँस बोकेको कोइराला निवासमा सभापति देउवा, वीपीलाई सम्झिए
विराटनगर । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा संस्थापक नेता वीपी कोइरालाको निवासमा पुगेर भलाकुसारी गरेका छन् ।
शनिबार विराटनगरमा रहेका कोइराला निवासमा सभापति देउवाले चिया पिएर फर्किएका हुन् । कोइराला निवासमा नेता शेखर कोइराला बस्दै आएका छन् । कोइराला परिवारमा सम्पत्ति बाँडफाँटका क्रममा इतिहाँस बोकेको कोइराला निवास शेखर कोइरालाको भागमा परेको छ ।
कोइराला निवासमा सभापति देउवासँगै स्व.वीपी कोइरालाका कान्छा छोरा एवम् कांग्रेस नेता डा.शशांक कोइराला पनि साथमा रहेका थिए ।
नेपाली कांग्रेसको प्रथम कोशी सम्मेलनमा भाग लिन विराटनगर आएका सभापति एवम् पूर्वप्रधानमन्त्री देउवा कोइराला निवास आएका हुन् ।
स्व.कृष्णप्रसाद कोइरालाले डेढसय वर्ष पहिले बनाएको घरमा पुगेका सभापति देउवाले भित्तामा राखिएका तस्विरहरू चाखपूर्वक अवलोकन गरेका थिए ।
शेखर कोइराला र उनका दाजु निरञ्जन कोइरालाको संयुक्त भागमा कोइराला निवास परेको छ । घरमा नेता डा.शशांक कोइराला विरलै मात्र आउने गर्छन् ।
पूर्वप्रधानमन्त्रीहरू मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी कृष्णप्रसाद कोइरालाको ऐतिहासिक घरमा लामो समयपछि सभापति देउवा आइपुगेका हुन् ।
वीपी कोइरालाको सान्निध्यमा रहेर राजनीति अघि बढाउने मौका पाएका देउवा २०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासमेतको साथले राष्ट्रिय राजनीतिमा स्थान सुरक्षित गरेका देउवा ०३६ को जनमत संग्रहमा पूर्व–पश्चिमसम्मका सभा–समारोहमा वीपी कोइरालासँगै खटिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया