स्व.सिंह मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पिएल सिंह मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा भएको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले स्व.सिंहको १३औँ पूण्यतिथिमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा देउवाले जनसम्पर्क एवं लोकप्रियताका आधारमा सिंह समकालीन नेताहरूमा धेरै अगाडि रहेको बताए ।

प्रजातान्त्रिक आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध स्व.सिंहले लौहपुरुष गणेशमान सिंहको परिवारको मात्र नभई सम्पूर्ण काठमाडौंवासीको सेवामा आफ्नो जीवन समर्पण गरेको सभापति देउवाले बताएका छन् ।

नेपाली कांग्रेसको संस्थागत सांगठनिक विकासमा स्व.सिंहले निर्वाह गरेको भूमिकाको देउवाले सराहना गरेका छन् । सभापति देउवाले स्व.सिंहले देखाएको बाटोमा इमान्दार भएर लाग्न पार्टीका नेता तथा कार्यकतालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जनताका अधिकारका लागि सधैँ अग्रमोर्चामा रही स्व.सिंहले राजनीति गरेको सम्झिएका छन् ।

नेपाली कांग्रेसका नेताहरू प्रकाशमान सिंह, प्रदीप पौडेल, राजेन्द्र केसी, सबुजकृष्ण बानियाँ, भीमसेनदास प्रधान, गोकर्ण केसी र जीवन डंगोललगायत वक्ताले काठमाडौं उपत्यकामा पार्टीको सङ्गठन विस्तार कसरी गर्ने भन्ने शिक्षा स्व.सिंहबाट लिनुपर्ने बताएका छन् ।

विक्रम संवत् २०५२ मंसिर २९ गते काठमाडौं नगरपालिकालाई पिएल सिंहको नेतृत्वमा काठमाडौं महानगरपालिका घोषणा गरिएको थियो । सिंह लोकप्रिय मतसहित काठमाडौं महानगरपालिकाको मेयरपनि बनेका थिए ।

Published : Saturday, 2024 December 28, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया