अभियुक्त रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री लामिछानेसंग अदालतमा बयान, निरास र थकित देखेपछि न्यायाधीशले साेधे

पाेखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानपछि मुद्दा दर्ता भएपछि जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसंग बयान लिने काम भएको छ ।

बिहीबार न्यायाधीश समक्ष लामिछानेसंग सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना र ठगीका बारेमा बयान लिइएकाे हाे । लामिछानेसंगकाे बयानमा करिब १५ वटा जति प्रश्न साेधिएकाे र जवाफ दिएकाे स्रोतले जनाएको छ । बयानमा लामिछानेले प्रहरीलाई जस्तै सहकारीको रकम दुरुपयोग र ठगीबारे थाहा नभएको जवाफ दिएका छन् । उनले गितेन्द्रबाबू राईलाई साेध्नु पर्ने प्रश्न आफूलाई नसाेध्न आग्रह गरेकोे स्रोतको भनाइ छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएर त्यसैका आधारमा तयार पारिएको प्रश्नमा लामिछानेले सबै इन्कारी बयान दिएका हुन् । लामिछानेमाथि सहकारी ठगीमा तीन करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ८४ हजार रुपियाँ बिगो माग दाबी गरिएको छ ।

लामिछानेसंग शुक्रबार पनि बयान लिने अदालतका कर्मचारीहरूले बताएका छन् । अभियुक्तहरूकाे बयान सकिएपछि थुनछेकमा बहस हुनेछ । अदालतले धरौटीमा छाडेर मुद्दा लड्ने सुविधा दिन्छ वा पुपक्षमा पठाउँछ बहसपछि थाहा हुनेछ । लामिछाने निकै निरास र थकित अवस्थामा देखेपछि न्यायाधीशले स्वास्थ्यबारे साेधेका थिए । लामिछानेलाई कास्की प्रहरीले सुविधा सहित राखेको छ । सुविधासहित लामिछाने हिरासतमा रहेकाे तस्बिर लामिछाने कै समर्थकले सार्वजनिक गरिसकेका छन् ।

Published : Friday, 2024 December 27, 5:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया