कार्बन उत्सर्जन भइरहे शताब्दीको अन्त्यसम्म हिन्द कुश हिमालयमा रहेका हिमनदीहरूले ८० सम्म हिउँको मात्रा गुमाउने छन् : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले डिसेम्बर ९ मा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलले ‘जलवायु परिवर्तनका सम्बन्धमा राज्यको दायित्व’ सम्बन्धमा पहिलो पटक नेपालका आधारहरु मौखिक रुपमा प्रस्तुत गरेको बताएकि छिन् ।
बिहीबार काठमाडौंमा आयाेजित अजरबैजानको बाकुमा सम्पन्न २९औँ विश्व जलवायु सम्मेलन एवं अन्तर्राष्ट्रिय न्यायालयमा नेपालको उपस्थितिबारे छलफल गर्न वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित समीक्षा कार्यक्रममा मनडा.राणाले हेगकाे अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइका क्रममा आफूले नेपालले कहिल्यै नगरेको गल्तीको सजाय भोगिरहेको कुरा सशक्त रूपमा उठाएकाे बतनइन् । उनले जिम्मेवार विकसित राष्ट्रहरूले जलवायु सङ्कट समाधानमा पनि उत्तिकै जिम्मेवारी लिई जलवायु न्यायको सिद्धान्त स्थापित हुनुपर्ने बताएकी छिन् ।
उनले नेपालजस्तो संवेदनशील भू-बनोट भएको पर्वतीय मुलुकका लागि जलवायु परिवर्तनको प्रभाव गम्भीर रहेको बताइन् । उनले नेपालका हिमालहरू पग्लिरहेका, जैविक विविधतामा ह्रास आइरहेको, प्राकृतिक विपत्तिहरू बढ्दै गएको र जसका कारण नेपालको अर्थतन्त्र, सामाजिक जीवन र वातावरणमा नै नकारात्मक असर पारिरहेको बताएकी छिन् ।
इसिमोडको प्रतिवेदनले यही गतिमा कार्बन उत्सर्जन भइरहेमा यस शताब्दीको अन्त्यसम्ममा हिन्द कुश हिमालयमा रहेका हिमनदीहरूले ८० सम्म हिउँको मात्रा गुमाउने देखाएकाले नेपाललगायत पर्वतीय मुलुकका लागि चिन्ताको विषय रहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
पर्वतीय क्षेत्र सबैभन्दा बढी जलवायु जोखिममा परेकाले त्यहाँका नागरिक अन्यत्रै जान बाध्य भएका र जलवायु परिवर्तनले मानिसको आधारभूत मौलिक अधिकारमा समेत खलल पारेको भन्दै परराष्ट्रमन्त्री डा.राणाले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न सबै मुलुकहरूको साझा प्रयास अपरिहार्य रहेको बताइन् ।
उनले जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत जटिलता, कोषको बाँडफाँडमा देखिएको असमानता र अन्य कठिनाइका बारेमा सम्बन्धित निकायहरूसँग गहन छलफल हुन जरूरी रहेको बतनइन् ।
उनले भनिन्, ‘त्यसैले पनि जलवायु परिवर्तनको वित्तीय समस्या समाधान गर्न, हानी नोक्सानी कोष परिचालन गर्न र हिमाल लगायतका विषयको उचित सम्बोधन गर्ने दिशामा अन्तर्राष्ट्रिय स्तरमा थप सहकार्य गर्न जरूरी देखिन्छ ।’
उनले जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न नेपालले आफ्नो अनुकूलन क्षमतालाई पनि बलियो बनाउँदै जानुपर्ने बताइन् ।
जलवायु परिवर्तनका कारण प्रत्यक्ष प्रभावित भएका समुदायहरूलाई सहयोग पुर्याउन विशेष योजना र कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, जलविद्युत् र सौर्य ऊर्जा प्रवद्र्धन गरी दिगो र हरित ऊर्जामा जोड दिनुपर्ने परराष्ट्रमन्त्री डा. राणाले बताएकी छिन् ।
उनले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने बताएकी छिन् ।
नगन्य कार्बन उत्सर्जन गर्ने तर त्यसको व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेकाले यस्ता चुनौतीको सामना गर्न नेपालले अन्तर्राष्ट्रियस्तरमा अझ सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता बढेको बताइन् ।
उनले भनिन्, ‘जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र यससँग जुध्न नेपालले गरिरहेका प्रयासहरूका बारेमा संयुक्त राष्ट्रसङ्घका विभिन्न फोरमहरू एवं जलवायु परिवर्तन सम्बन्धी सम्मेलनहरूमार्फत विश्व समुदायसमक्ष हामीले स्पष्ट र सशक्त रूपमा राख्दै आएका छौँ । आगामी दिनहरुमा यसलाई थप सशक्त बनाउनु पर्छ ।´
फेसबुकबाट तपाईको प्रतिक्रिया