विविधता बीच मनाइने विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरूलाई सबैले सम्मान गर्ने हाम्रो परम्परा छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईसाई धर्मावलम्बीहरूलाई क्रिसमसको शुभकामना दिएका छन् ।
बुधबार शुभकामना सन्देश दिंदै देउवाले देश विदेशमा रहेका नेपाली ईसाई धर्मावलम्बीहरूलाई शुभकामना दिएका हुन् । उनले भने, `डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई ईसाई धर्मावलम्वीहरूले हरेक वर्ष धार्मिक—सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् ।´
`क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली ईसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु´, सभापति देउवाले भने ।
उनले भने, `नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यिनै विविधता बीच मनाइने यहाँका विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ ।´
सभापति देउवाले भने, `यी पर्वहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन् ।´
‘क्रिसमस डेका अवसरमा सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः हार्दिक शुभ–कामना व्यक्त गर्दछु´, सभापति देउवाले भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया