रविका पार्टर जीवीकाे अर्को पनि कर्तुत्, महिलाले दिइन् बयान

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पार्टर गितेन्द्रबाबु राई (जीवी)ले एकजना महिला र पुरुषमार्फत क्रिप्टाे करेन्सीमा लगानी गरेकाे खुलासा भएको छ ।

सहकारीको बचत अपचलनबाट आर्जित रकमलाई राईले लीला पछाई र विश्वबिक्रम राईमार्फत क्रिप्टाे करेन्सीमा लगानी गरेको प्रमाण प्रहरीले मुद्दा दर्ताका क्रममा बुझएकाे छ । विश्व राई मलेसियाका एनआरएनका अध्यक्ष हुन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पछाई र राईमार्फत १८ करोड ४८ लाख ८ हजार ८५ रुपियाँ बराबरको डिजिटल कारोबार गरी क्रिप्टो करेन्सीमा लगानी गरेको फेला पारेको छ ।

रवि लामिछानेसहित आइतबार ४४ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्ने क्रममा जिल्ला सरकारी वकिल कार्यालयले क्रिप्टो करेन्सीमा लगानी भएको प्रमाणसमेत बुझाएको छ ।

सूर्यदर्शन सहकारीबाट उनको प्राइम बैंकको खातामा सोझै ५० लाख रुपियाँ र सूर्यदर्शन हुँदै जीबी राईको खाताबाट १ करोड ५० लाख रुपियाँ जम्मा भएको छ । उनको नाममा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महाराजगञ्ज र न्युरोड शाखामा ५० लाख रुपियाँ फिक्स्ड डिपोजिट गरिएको भेटिएको छ ।

उक्त रकम उनले आफ्नो नाममा ललितपुरको खुमलटारमा घर किन्न, पोखराको रिठ्ठेपानीमा आमा राधा पछाईको नाममा घर किन्न, दिदी गीता पछाईका नाममा बुटवलमा जग्गा किन्न, गाडी, स्कुटर र गरगहना किन्न खर्च गरेकी छन् । पछाईले उक्त रकम लिएको प्रहरीसँगको बयानका क्रममा स्वीकारेकी छन् ।

कारोबार भएको रकम १८ करोड ४८ लाख ८ हजार ८५ रुपियाँ रहेको छ । पछाईले जीवीराईले आफूलाई विश्वास गरी घर, गाडी किन्न रकम दिए पनि क्रिप्टो कारोबार भने जीबवी राईकै निर्देशनमा विश्वविक्रम राईमार्फत भएको बयान दिएकी छिन् ।

Published : Monday, 2024 December 23, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया