रविन्द्र मिश्र, रवि लामिछाने परिचालित हुन्, अन्तिम उद्देश्य दरबारमा मिल्ने हो : विद्वान गुरुङ
कुश्मा । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले आन्तरिक र बाह्य शक्तिहरूले अहिलेको व्यवस्थालाई ढालेर देशमा अस्थिरता ल्याउन खोजेको बताएका छन् ।
शुक्रबार कुश्मामा नेपाली कांग्रेस पर्वतले १०० दिने अभियानको शुरुवात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले कांग्रेसले यस्ता चुनौतीहरू विगतबाट नै भोग्दै आइरहेको बताए । उनले नेपालका कम्युनिस्ट पार्टीहरूको चुनौती कांग्रेसले नै बोकिरहेको बताए ।
नयाँ आएका पार्टीहरू कहीँ नकहीँबाट सञ्चालनमा रहेको अध्यक्ष गुरुङले बताए । राप्रपाका नेता रविन्द्र मिश्रदेखि रास्वपाका सभपाति रवि लामिछानेका पार्टीहरू अन्तिममा दरबारमा नै गएर मिल्ने उद्देश्य बोकेर आएको बताए ।
१०० दिनको अभियानमा पर्वतका विभिन्न पालिका, वडासम्म पुगेर पार्टीको गतिविधिका विषयमा छलफल गरिने नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले बताए । जोशीले १०० दिने अभियानलाई सफल बनाउन र साथ दिन पार्टीका नेता कार्यकर्ताहरूसँग आग्रह गरेका छन् । उनले कांग्रेसको संगठन बलियो बनाउन १०० दिने अभियानले सहयोग गर्ने बताए ।
सभापति जोशीले १०० दिने अभियानमा पार्टीका नीति, कार्यक्रम, चुनावी तयारीलगायतबारे स्थानीय नेता कार्यकर्तासँग छलफल हुने बताए । कांग्रेसमा रहेर कांग्रेसको चिन्ता नै नगर्ने व्यक्तिहरूले कांग्रेसलाई कमजोर बनाएको सभापति जोशीले बताए । कांग्रेसमा रहेर कांग्रेसलाई कमजोर बनाउने धमिराहरूले कांग्रेसको गफ गर्न नसुहाउने जोशीले बताए ।
सभापति जोशीले कांग्रेसमा समस्या रहेको भन्दै बाहिर कुप्रचार गरेर कांग्रेसलाई कमजोर बनाउन खोजिएको भएपनि अवस्था त्यस्तो नभएको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया