रवि र निकिताको खाताहरूबाट ठूलो रकमको कारोबार, गम्भीर अनुसन्धान हुँदै

काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेका बेला उनकी पत्नी निकिता पौडेलको बैंक खातामा ठूलो रकमको कारोबार भएको भेटिएको छ ।

निकिताको नेपाल बैंक लिमिटेडको खाता नं. १६४००१०७२२४ मा ६ करोड ५३ लाखको कारोबार भएको भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरीले दाबी गरेका छन् । निकिताको खातबाट ४ करोड १३ लाख ४३ हजार ७ सय रुपियाँ पनि कारोबार भएको भेटिएको दाबी प्रहरी स्रोतको छ ।

रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेको नविल बैंकमा रहेको खाता ००३०३०७०१०००५९१६ मा ८ करोड २६ लाख ९९ हजार बराबरको कारोबार भएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको दाबी गरेको छ ।

लामिछानेको सिद्धार्थ बैंकको १०१०१५०९२४९४ को खातामा २ करोड १० लाख १६ हजार बराबरको कारोबार भएको प्रहरीले भेटाएको छ ।

लामिछानेकी पत्नी निकिताको सिद्धार्थ बैंक लिमिटेडको खाता नं. २४१५२०७३३१ बाट २८ करोड ३५ लाख ११ हजार ८ सय बराबरको कारोबार भएको पनि भेटिएको प्रहरी उच्च स्रोतको दाबी छ ।

बैंक खातामा भएको कारोबारका विषयमा निकितासँग प्रतिक्रिया लिन प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन । प्रहरीले लामिछाने र निकिताको बैंक खातामा देखिएको रकमका विषयमा पनि अनुसन्धान गरिरहेको छ ।

सहकारी ठगी काण्डमा एक महिनाभन्दा धेरै समयदेखि प्रहरी हिरासतमा रहेका लामिछानेको खाताहरूमा देखिएको रकमको कारोबार प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरिरहेको छ । पैसाको स्रोतका विषयमा पनि प्रहरीले खोजी गरिरहेको छ ।

लामिछानेका साथै उनकी पत्नी निकिता पौडेलमाथि पनि प्रहरीले अनुसन्धानका लागि राडरमा राखेको स्रोतले जनाएको छ । ती रकम कहाँबाट आयो ? र कहाँ गयो ? भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान शुरु गरेको स्रोतले जनाएको छ ।

Published : Friday, 2024 November 29, 1:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया