यौनजन्य नक्कली औषधि बिक्री गर्ने काठमाडौं, ओखलढुङ्गा र काभ्रेका केटाहरू पक्राउ
काठमाडौं । यौनजन्य नक्कली औषधि उत्पादन तथा विक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)द्वारा विज्ञप्तिमा उल्लेख छ ।
यार्सागुम्बाको नाममा सताबरी, अश्वगन्धा, सिलाजित जस्ता विभिन्न जडिबुटीहरूको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडिबुटी भनेर विभिन्न नामका बट्टाहरू र क्याप्सुलहरू देखाई फेसबुक, टिकटक जस्ता सामाजिक संजालको माध्यमबाट आकर्षक र अश्लील विज्ञापन गरेको अभियोग लागेकोछ ।
ती औषधिबाट कुनै साईड ईफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनी उल्लेख गरी सर्वसाधारणमा भ्रम सिर्जना गरी विक्री वितरण भइरहेको उजुरी परेपछि ब्यूरोले पक्राउ गरेको जनाएको छ ।
ब्यूरोबाट खटिएको प्रहरीले भक्तपुरको गट्ठाघरस्थित स्टोर संचालन गरिरहेको ठाउँबाट सुजन गौतम र सुजन खड्का तथा ललितपुरको लुभुस्थित वायो फुड्स नेपाल प्रा.लि. नामक फुड्स सप्लीमेन्ट फ्याक्ट्रीका संचालक डिल्लीप्रसादलाई पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया