गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्वारा न्यूयोर्कमा निःशुल्क खाद्यान्न वितरण
न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्कको उडसाईडमा निःशुल्क खाद्यान्न वितरण गरेको छ ।
फाउण्डेशनको कार्यालय परिसरमा निःशुल्क खाद्यान्न वितरण गरेको प्रेस नोटमा उल्लेख छ । अमेरिकाको न्यूयोर्कमा रहेको प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा निःशुल्क खाद्यान्न वितरण गरिएको छ ।
अमेरिकामा मनाइने थ्याङ्ग्स गिभिङ्ग डे (धन्यवाद दिवस)को अवसरमा फाउण्डेशनले १५० जनालाई निःशुल्क खाना वितरण गरेको जनाएको छ । खानामा फ्रोजन चिकेन, फलफूलसहित तरकारी बाँडेको प्रेस नोटमा उल्लेख छ ।
फाउण्डेशनले अमेरिकाभरि सामाजिक कामहरू गर्दै आइरहेको छ । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले निःशुल्क खाद्यान्न वितरण गरेका हौं’, फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले भने ।
घिमिरेले भने, ‘फाउण्डेशनमार्फत सामाजिक कामहरूमा हामीले तीव्रता दिँदै आइरहेका छौं ।’
खाना वितरण कार्यक्रममा फाउण्डेशन अमेरीका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामाको सकृयतामा स्वयंसेवकहरू परिचालन गरिएको छ । फाउण्डेशनका कृयाशील सदस्यहरू क्रमशः जीवनकुमार श्रेष्ठ, अमिता श्रेष्ठ, निर्मला बराल, पासाङ्ग शेर्पा गोपर्मा, लाक्पा शेर्पा, सन्तोष् बस्नेत, ध्रुवज्योति श्रेष्ठ, दीपक रायमाझी, आदित शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।
फाउण्डेशनको सामाजिक कार्यहरूको मूल्याङ्कन गर्दै अमेरिकी सिनेटका बहुमत नेता चक शुमर, संघीय कांग्रेस सदस्य ग्रेस मेंग, न्युयोर्क शहरका मेयर ऐरिक अडम्स, पूर्वमेयर बिल दे ब्लाजियो, न्यूयोर्क शहरका कम्पट्रोलर ब्राड ल्यान्डर, सिटी काउन्सिलकी सभामुख एन्ड्रिएन एडम्स, न्युयोर्क शहरका सार्वजनिक अधिवक्ता जुमाने विलियम्स, क्वीन्स जिल्ला महाअधिवक्ता मेलिन्डा काट्ज, ब्रुक्लीनबोरो प्रेसिडेन्ट अलफ्न्सो रेनोसो, क्वीन्सबोरो प्रेसिडेन्ट डोनोभन रिचार्ड्स, न्युयोर्क राज्यका सेनेटरहरु जोल लु, लेरोय कामरी र माईकल जियानारिस, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरू सहाराना श्रेष्ठ, जेनिफर राजकुमार, स्टीभन रागा, अलिसिया हाईन्डमेन, डेभिड वेपरिन, खलील ऐन्डरसन र क्याटालिना क्रुज र न्यूयोर्क शहरका सिटी काउन्सिल मेम्बरहरू जुली वन, शेखर कृष्णन, लिन्डा ली र सान्ड्रा उङ लगायतका निर्वाचित पदाधिकारीले फाउण्डेशनलाई उद्धरण र उद्घोषणाको साथ सम्मान पत्रले पुरस्कृत गरेका छन् ।
फाउण्डेशनले विभिन्न समुदायका लगभग तीस हजारभन्दा धेरैलाई मानव सेवा गरेको छ । सेवा नै धर्म हो भन्ने नाराका साथ फाउण्डेशन समाज सेवामा समर्पित भएर अघि बढी रहेको छ ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीकी कार्यकारी निर्देशक जेनी पर्साउद, जसले खाद्यान्न उपलब्ध गराई फाउण्डेशनसंग सहकार्य गरेकोमा अध्यक्ष घिमिरेले धन्यवाद दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया