परराष्ट्रमन्त्री डा.राणालाई चीनमा सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लिद्वारा स्वागत
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई चीनका विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङले छन्दुमा स्वागत गरेका छन् ।
बिहीबार छन्दुमा परराष्ट्रमन्त्री डा.राणालाई चीनका लागि नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीले पनि स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीसहितले विमानस्थलमा जहाजमै पुगेर स्वागत गरेका थिए ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री डा.राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा.राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । डा.राणा र चिनियाँ समकक्षीबीच शुक्रबार चीनको छन्दु सहरमा भेटवार्ता हुनेछ ।
चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा.राणा चीन गएकी हुन् । परराष्ट्रमन्त्री डा.राणा मंसिर १५ गते शनिबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया