भक्तपुरमा लुटेराहरूको ग्याङ पक्राउ
काठमाडौं । लुटपाट कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ सिद्धिकाली डेरा गरी बस्ने रामेछापको दोरम्बा गाउँपालिका– ७ घर भएका २७ वर्षीय चेतबहादुर विक, २५ वर्षीया सानु कोइराला बि.क. र दोलखाको जिरी घर बताउने १९ वर्षीया माया भन्ने सविता कोइराला बि.क. रहेको विज्ञप्तिमा उल्लेख छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ घर भई भक्तपुर नगरपालिका–२ महाकाली कुनाटोल डेरा गरी बस्ने ५५ वर्षीया महिलालाई अपरिचित समूहले खाजा खान लैजाने प्रलोभन देखाई सोमबार दिउँसो होटलमा लगेर अत्याधिक मादक पदार्थ सेवन गराई अर्धचेत बनाएका थिए ।
भक्तपुर नगरपालिका–६ स्थित कार्साङ कुसुन खोलाको छेउमा ती महिलालाई लगेर सुनको गरगहना तथा मोबाइल समेत लुटपाट गरेको प्रहरीले जनाएको छ ।
खबर पाउनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय, भक्तपुरबाट खटिएको प्रहरीले लुटपाटको कार्यमा संलग्न उनीहरूलाई भक्तपुरको सिद्धिकालीबाट पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा लुटपाट गरिएको सुन खरिद गरी स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ बाखा बजारस्थित अमनी सुनचाँदी ज्वेलर्सका सञ्चालक नुवाकोटको सूर्यगढी गाउँपालिका–५ घर भएका ४४ वर्षीय राजिन सुनारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया