पर्सा र महोत्तरीका विवादास्पद सीडीओसँग गृहमन्त्री लेखकले लिए स्पष्टीकरण
काठमाडौं । विवादास्पद गतिविधि र अभिव्यक्ति दिएका पर्सा र महोत्तरीका दुई जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
गृहमन्त्री रमेश लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याललाई स्पष्टीकरण सोधेका हुन् । गृहमन्त्री लेखकले उनीहरूसँग मंगलबार स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ ।
महोत्तरीका सीडीओ कवारीलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा स्पष्टीकरण सोधिएको छ ।
पर्साका सीडीओ अर्याललाई विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको छ । अर्यालमाथि केही दिन अगाडि अस्पताल तोडफोड सम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको आरोप छ ।
गृहमन्त्री लेखकले पर्सा र महोत्तरीका सीडीओहरूलाई आइन्दा प्रश्न उठ्ने किसिमको गतिविधि नगर्न चेतावनी दिँदै जिल्ला पठाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया