स्थानीय तहको उपनिर्वाचनमा यसअघिको तुलनामा कांग्रेसले राम्रो परिणाम ल्याउँछ : महामन्त्री थापा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूको पक्षमा राम्रो परिणाम आउने बताएका छन् ।
बुधबार बिराटनगर विमास्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले स्थानीय तहको आसन्न उपनिर्वाचनमा यसअघिको तुलनामा कांग्रेसले राम्रो परिणाम ल्याउने बताए । उनले कांग्रेसको उम्मेदवारलाई विजयी बनाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
महामन्त्री थापाले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने बताएका छन् । उनले संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहार्दपूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले संविधानको मर्म र भावना एवं पञ्चशीलको सिद्धान्तअनुसार सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध राख्नेछ ।’
दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न कांग्रेस र एमालेबीच राजनीतिक संयन्त्र बनेको बताए । संविधान संशोधनको विषयमा पहिले कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरूसँग छलफल गर्ने योजना रहेको थापाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया