सभापति देउवाद्वारा बीआरआईबारे पदाधिकारी र नेताहरूसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का विषयमा नेताहरूसँग छलफल गरेका छन् ।

बुधबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवाले पदाधिकारी र शीर्ष नेताहरूसँग बीआरआईका विषयमा छलफल गरेका हुन् । ऋण नथप्ने गरी बीआरआई अघि बढाउने पार्टीको निष्कर्ष रहेको प्रवक्ता डा.प्रकाशरण महतले बताए ।

डा.महतले भने, ‘म आफैं परराष्ट्रमन्त्री हुँदा बीआरआईको एमओयूमा हस्ताक्षर भएको हो । बीआरआईअन्तर्गतको परियोजना लिने विषयमा कांग्रेसमा द्विविधा छैन ।’

‘देशलाई ऋणको भार थप्ने अवस्थालाई स्वीकार्न सकिँदैन’, डा.महतले भने, ‘बीआरआईअन्तर्गतका नौ वटा परियोजनामाध्ये सुरुङमार्ग, सडकमार्ग र रेलमार्गसहित उत्तरी नाका जोड्ने आयोजनालाई ग्राण्ड फाइनान्सिङ, टेक्निकल सपोर्टसहितमा चीनबाट सहयोग लिन सकिने पक्षमा कांग्रेस रहेको छ ।’

प्रवक्ता डा.महतले भने, ‘बीआरआई धेरै ठूलो महत्वकांक्षी परियोजना हो । छिमेकी र शक्ति राष्ट्रले आफ्नो आर्थिक शक्तिलाई प्रयोग गर्नु अनौठो होइन ।’

उनले भने, ‘चीन नेपालको छिमेकी हो, हामीले चीनसँग उत्कृष्ट सम्बन्ध राख्नुपर्छ । मित्रवत् सम्बन्ध राख्नुपर्छ ।’

Published : Wednesday, 2024 November 27, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया