कांग्रेस नेता एवम् सांसद ढुंगानाविरुद्ध अवहेलनाको मुद्दा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सदस्य अनन्दप्रसाद ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता भएको छ ।
मंगलबार न्यायाधीश शारंगा सुवेदीको इजलासमा अवहेलनाको मुद्दा पेश भएको थियो । गण्डकी प्रदेशसभाको मुद्दामा उनले समेत फैसला गरेकाले त्यसै विषयसँग सम्बन्धित विषयको अवहेलना निवेदन उनले ‘हेर्न नमिल्ने’ भयो ।
अधिवक्ता त्रिलोकबहादुर चन्द लगायतले नेता ढुंगानाविरुद्ध सर्वोच्चमा निवेदन दिएका हुन् । न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा असम्बन्धित न्यायाधीशको कार्यसम्पादनबारे प्रश्न उठाएको निवेदनमा उल्लेख छ ।
कात्तिक २३ गते न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको संसदीय सुनुवाइ भएको थियो ।
ढुंगानाले गण्डकी प्रदेशसभाको विवादका क्रममा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले गरेको आदेशमाथि प्रश्न उठाएको अवहेलनमा मुद्धा जिकिर गरिएको छ ।
कांग्रेस सांसद ढुंगानाले दलहरूप्रति झुकाव राख्ने व्यक्ति न्यायाधीश भएमा न्यायपालिका प्रवेश गरेपछि ‘राजनीतिक चप्पल’ फुकाल्नुपर्ने बताएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया