आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्नुस् : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरूलाई आग्रह गरेकी छिन् ।

नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरू तथा नेपालका निर्यात व्यवसायीहरूसँग मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री डा.राणाले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको जानकारी गराउँदै आर्थिक कूटनीतिको प्रवर्धनमा लाग्न आग्रह गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरूले आर्थिक कूटनीति प्रवर्धन गर्नुपर्ने जरुरी देखिएको छ । आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरूलाई उजागर गरी निर्यात प्रवर्धनमा लाग्नुहोला ।’

उनले नियोग मार्फत हुने आर्थिक कूटनीतिका कार्यक्रमहरूलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै यसका लागि नियोगमा पर्याप्त स्रोत साधन एवं जनशक्तिको समेत अभाव रहेकाले यसको वृद्धि गर्नेतर्फ आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।

मन्त्री डा.राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै संगठन तथा व्यवस्थापन सर्भे गरिएको र थपिएको सो जनशक्तिले परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताएकी छिन् ।

नेपालका निर्यात व्यवसायी एवं उद्यमीहरूले आफ्ना उत्पादनहरुलाई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी ‘प्याकेजिङ’ गर्नुपर्ने उनको सुझाव छ । मन्त्री डा.राणाले विदेशी बजारमा नेपाली उत्पादनको विशिष्ट पहिचान रहेकाले माग पनि हुने गरेको भन्दै स्तरीय प्याकेजिङसहित निर्यात गर्न सुझाव दिएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले आफ्ना उत्पादनको निर्यातका क्रममा कुनै समस्या भएमा नेपाली मिसनहरुका साथै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न निर्यातकर्ताहरूलाई आग्रह गरेकी छिन् ।

Published : Tuesday, 2024 November 26, 4:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया