साना टोले दलालहरू पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका–९ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ आदमटार घर भई काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने ३६ वर्षीय पदमबहादुर भुजेल र झापाको बाह्रदर्शी गाउँपालिका–३ घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ कपन बस्ने ४१ वर्षीय कार्तिकलाल राजवंशी रहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये रविनले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपियाँ, पदमले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपियाँ र कार्तिकले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपियाँ लिई सम्पर्कबिहीन भएको अभियोग छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रविनलाई काठमाडौंको काँडाघारी र पदमलाई काठमाडौं नयाँबजारबाट आइतबार पक्राउ गरेको छ । कार्तिकलाई काठमाडौंको दरबारमार्गबाट सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया