अख्तियारले बलियो फाइल बनाएपछि जनप्रतिनिधि र कर्मचारीहरू भ्रष्टाचारी ठहर, कैद र जरिवना फैसला

काठमाडौं । विशेष अदालतको फैसलाबाट सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासमानसहित ५ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको छ ।

सोमबार विशेष अदालतले २ वर्ष ६ महिना कैद र जनही ४३ लाख २० हजार रुपियाँ जरिवाना सजाय सुनाएको हो ।

पूर्वमेयर पासवानसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीनकुमार महतो र निर्माण व्यवसायी वैजनाथ यादवले भ्रष्टाचार गरेको ठहर विशेष अदालतले गरेको छ ।

उनीहरूलाई २ वर्ष ६ महिना कैद र जनही २१ लाख ६० हजार रूपियाँ बिगो र त्यति रकम नै जरिवाना गरी ४३ लाख २० हजारका दरले रकम भराउने फैसलामा उल्लेख छ ।

नगरपालिकाको प्रशासनिक भवन निर्माणका नाममा काम नगरी अनियमितता गरेको अभियोगसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वर्षको चैत १४ गते पाँच जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीहरूले भवन निर्माणका नाममा १ करोड ८ लाख रुपियाँ अनियमितता गरेको दाबी अख्तियारको थियो । विशेष अदालतले सोही मुद्दामा कात्तिक २८ गते सुनुवाइ गर्दै न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय भ्रष्टाचारका मुद्दामा जित हासिल गर्दै आएको छ । भ्रष्टाचारीहरूलाई दण्ड र जरिवाना हुँदै आएको छ ।

Published : Tuesday, 2024 November 26, 10:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया