धान खेतमा लतारेर सशस्त्र प्रहरीका असई विकको हत्याका अभियुक्त पुर्पक्षमा जेल चलान
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन वि.क.को हत्याका अभयुक्त ५५ वर्षीय देवेन्द्र चौधरी कारागार चलान भएको छ ।
२०७२ भदौ २५ गते महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ४ स्थित जिल्ला कमाण्ड सुरक्षा बेश क्यम्प जलेश्वर महोत्तरीमा कार्यरत असई वि.क.लाई कुटपिट गरी हत्या भएको थियो ।
कर्तव्य ज्यान मुद्दामा २०८० मंसिर २८ गते फैसला भई वारदात पश्चात फरार रहेका महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. १३ धबौली घर भइ हाल जलेश्वर नगरपालिका वडा नं. ६ बस्ने चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा मंसिर २ गते महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका वडा नं. १ स्थित रामानन्द विषेश्वर महेन्द्र क्याम्पस अगाडिबाट नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेका चौधरीलाई महोत्तरी जिल्ला अदालतमा दाखिला गरी ४ दिनको निरन्तर सुनवाईपछि शुक्रबार पुर्पक्षको लागि जलेश्वर कारागार कार्यालय महोत्तरीमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
कथित मधेश आन्दोलनका क्रममा असई वि.क.लाई एम्बुलेन्सबाट थुतेर धानको खेतमा लतारेर हत्या भएको थियो । हत्यामा चौधरीको संलग्नता रहेको किटानी जाहेरीपछि अनुसन्धान भएको थियो ।
जनताको सुरक्षामा खटिएको सुरक्षाकर्मी असई वि.क.को हत्यामा संलग्न चौधरीलाई प्रहरीले कारबाहीका लागि कानूनी कठ्घारामा उभ्याएको छ । चौधरी कारागार चलान भएका छन् । असई वि.क.ले न्याय पाउनु पर्छ भनेर आफन्तले माग गरिरहेका बेला न्यायालयले चौधरीलाई पुर्पक्षमा पठाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया