ललितपुरबाट डा.दाहाल पक्राउ
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालय, टेकुले अन्डरवर्ल्डको नाममा विभिन्न व्यक्तिलाई धम्क्याएको आरोपमा ३२ वर्षीय डा.आशिष दाहाललाई पक्राउ गरेको छ ।
भोजपुर घर भई हाल ललितपुरको ग्वार्को बस्ने डा. दाहाललाई पक्राउ गरेको बुधबार कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
डा.दाहालले ग्वार्कोको निजी क्लिनिकमा काम गर्दै आएको कार्यालयका एसपी काजीकुमार आचार्यले बताएका छन् । चिकित्सक, व्यापारी लगायतसँग डा.दाहालले पैसा माग्दै ह्वाट्सएपमार्फत धम्क्याएको अभियोग लागेको छ ।
उनले पैसा नदिए हत्या गर्नेसम्मको धम्की दिएका थिए । डा.दाहालले आफूले क्यासिनोको लतका कारण आर्थिक संकटमा फसेको प्रारम्भीक बयान दिएका छन् । क्यासिनोका कारण यस्तो काम गरेको उनले बताएको प्रहरीले जनाएको छ ।
डा.दाहाल सन् २०१७ मा अमेरिका गएका थिए । उनी अमेरिकामा रहेका बेला नियमित क्यासिनो जान्थे । ठूलो रकम हारेपछि डा.दाहाल नेपाल फर्किएका थिए ।
नयाँ सिमकार्ड निकालेर डा.दाहालले धम्क्याउने योजना बनाएका थिए । उनले आफ्नै सहकर्मी तथा सामान्य चिनजान भएका व्यापारीहरूलाई ह्वाट्सएपमा म्यासेज पठाएर दुई लाख रुपियाँसम्म मागेका थिए । उनलाई कसैले पनि पैसा दिएका थिएनन् ।
दाहालले त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)बाट छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया