आफ्नै निर्वाचन क्षेत्र रहेको जिल्लामा लामिछानेविरुद्ध ठगीको मुद्दा
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ ।
बुधबार सहकारीपीडितहरूले साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले रास्वपाका सभापति लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन् ।
लामिछानेसहित १० जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । सहकारी संघर्ष पीडितका अध्यक्ष शालिकराम दवाडीले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएको बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले लामिछानेसहितका आरोपीमाथि पूरक अनुसन्धान भइरहेको बताएका छन् ।
यसअघि साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
चितवनमा लामिछानेको निर्वाचन क्षेत्र रहेको छ । लामिछानेले आफ्नै मतदाताहरूले सहकारीमा जम्मा गरेको करोडौं रकम ठगी गरेको प्रकरणमा किटानी जाहेरी परेपछि रास्वपाभित्र हंगामा भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया