नागरिकले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी टीकाकुमारी निर्विरोध

टीकापुर । नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् ।

कांग्रेसले जिल्ला समन्वय समिति ओखलढुङ्गापछि कैलालीमा संयोजक निर्विरोध भएको छ । कांग्रेसले आफ्ना उम्मेदवारलाई ओखलढुङ्गा र कैलालीमा निर्विरोध गराएर राम्रो सन्देश दिएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी रूपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी टीकाकुमारी निर्विरोध भएकी हुन् ।

नागरिक उन्मुक्ति र कांग्रेसका नेताहरूबीच समन्वय समितिमा कांग्रेसलाई समर्थन गरेर जाने सहमति भएको थियो ।

डगौरा नागरिक उन्मुक्ति पार्टीका नेता एवं प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी, कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टलगायत नेताहरूसहित उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् ।

समन्वय प्रमुखमा निर्विरोध भएकी चौधरी गत स्थानीय तह निर्वाचनमा कैलारी गाउँपालिका– २ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन् ।

कांग्रेस–एमालेको साझा उम्मेदवारको रूपमा उनले उम्मेदवारी दिएकी थिइन् । नागरिक उन्मुक्तिले समर्थन नगर्दा पनि कांग्रेस उम्मेदवार भुल निर्वाचित हुने निश्चित थियो ।

कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख पदमबहादुर कलेलको निधन भएपछि संयोजक पद रिक्त छ ।

Published : Wednesday, 2024 November 20, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया