भ्रम र अराजकता फैलाएका ९ युट्युव च्यानललाई प्रेस काउन्सिलद्वारा कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युव च्यानललाई कारवाही गरेको छ ।

तीमध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्न मंगलबार नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युव च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ ।

काउन्सिलले पछिल्लोसमयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको छ ।

केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारवाही गरेको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ ।

काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्धारा जारी विज्ञप्तिमा आधिकारिक एवं विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने बताए । उनले भ्रम फैलाउने सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई आग्रह समेत गरिएको बताएका छन् ।

‘अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापी होइन’, प्रेस काउन्सिलले विज्ञप्तिमार्फत भनेको छ । प्रेस विज्ञप्तिमा कारवाहीमा परेका माध्यमहरूको विवरण समेत राखिएको छ ।

Published : Tuesday, 2024 November 19, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया