विवादास्पद मेडिकल व्यवसायी प्रसाईं गिरफ्ता, संगठित अपराधमा पनि अनुसन्धान हुने

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेको छ ।

मंगलबार भक्तपुरस्थित निवासबाट प्रसाईंलाई ब्यूरोको टोलीले पक्राउ गरेको सीआईबीका प्रमुख (एआईजी) दीपक थापाले बताएका छन् । प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको थापाले बताए । उनले भने, ‘अहिले विद्युतीय कारोबार ऐनअनुसार पक्राउ गरिएको छ । अनुसन्धान गर्दै जाँदा अन्य के–के विषय भेटिन्छ ती सबै विषयमा पनि अनुसन्धान हुन्छ ।’

मेडिकल माफियाको आरोप खेप्दै आएका विवादास्पद व्यवसायी प्रसाईंले प्रधानमन्त्री केपी ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप लागेको छ ।

प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान हुनेछ । कीर्ते प्रकरणमा पनि प्रसाईंविरुद्ध अनुसन्धान हुनेछ । प्रसाईंलाई कीर्ते र संगठित अपराधमा पनि कारबाही हुन सक्ने सीआईबीका प्रमुख (एआईजी) थापाले बताएका छन् ।

विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सञ्जालमार्फत धेरै व्यक्ति र संस्थालाई टाउको दुखाइको विषय बनेका प्रसाईंलाई यसअघि पनि साइबर अपराधमा प्रहरीले पक्राउ गरेको थियो । धरौटीमा छुटेका प्रसाईंमा सुधार नभएपछि पुनः प्रहरीले विभिन्न प्रमाणहरूको आधारमा पक्राउ गरेको छ ।

Published : Tuesday, 2024 November 19, 3:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया