प्रहरीद्वारा चार अपहरणकारीलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
अपहरणमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ बस्ने रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमन घर भएका ३१ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् ।
काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ भार्खु घर भएका ३८ वर्षीय नुर्पु सिंगी तामाङ, रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चे घर भएका ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवाको कालिका गाउँपालिका–१ राम्चे घर भएका ४८ वर्षीय गोपाल तामाङ रहेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले असोज ४ गते काठमाडौं महानगरपालिका–१६ बालाजु माछापोखरीबाट पीडितहरूलाई ट्याक्सीमा राखी बुढानिलकण्ठ नगरपालिका नारायणस्थानस्थित शैलजा रिसोर्टमा लगि बन्धक बनाई कुटपिट गरेको अभियोग लागेको छ ।
चार जनाको समूहले पीडितलाई बैंकको चेक जबरजस्ती काट्न लगाई विभिन्न डर त्रास देखाई रकम समेत माग गरेको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया