स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौती : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।
काठमाडौंमा महासंघले सोमवार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ढकालले अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको बताए ।
उनले स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौती नजिक आइरहेको बताएका छन् । नवप्रवर्तन तथा सूचना प्रविधिको उपयोगमार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प नरहेको पनि अध्यक्ष ढकालले बताए ।
स्तरोन्नतिबाट फाइदा लिन राष्ट्रिय योजना आयोगले तयार गरेको रणनीतिलाई व्यवसायीहरूको सुझाव अनुसार थप परिमार्जन गर्नुपर्ने अवस्था रहेको ढकालले बताए ।
महासंघका अध्यक्ष ढकालले लघु घरेलु साना एवं मझौला उद्यमले पुँजी र प्रविधिका आधारमा पनि प्रतिस्पर्धी क्षमता कम हुने भएकाले यस्ता उद्यमीलाई थप सहयोगको जरुरी रहेको बताएका छन् ।
लघु घरेलु साना एवम् मझौला उद्यमीलाई आइपर्ने चुनौतीको सामना गर्न सघाउने उद्देश्यले महासंघमै लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना समेत गरेको बताएका छन् ।
केन्द्रको अध्यक्ष ढकालसहित राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी र उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्घाटन पनि गरेका छन् ।
केन्द्रले नीतिगत व्यवस्थाहरू, प्रक्रियागत सहजता तथा क्षमता अभिवृद्धि र बजार विस्तारमा उद्यमीहरूलाई सहयोग पु¥याउने लक्ष्य लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया