टोले गुण्डाले परिचित काभ्रेली सत्यमान पक्राउ

काठमाडौं । विभिन्न अपराधमा पटक पटक पक्राउ परेर छुट्दै आएका टोले गुण्डाको रुपमा परिचित सत्यमान लामा पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीले आइतबार साँझ सत्यमानलाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) बसन्त रजौरेले बताए । सत्यमान चेक बाउन्स मुद्दामा पक्राउ परेका छन् ।

काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका सत्यमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) रजौरेले बताएका छन् ।

सत्यमानलाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो । अदालतको फैसलापछि टोले गुण्डा सत्यमान फरार रहेका थिए ।

पक्राउ परेका सत्यमान लामा अर्का गुण्डा नाइके दावा लामा निकट मानिन्छन् । दावाको सहयोगीका रुपमा सत्यमानले विभिन्न अपराधहरू गरेको आरोप छ । सत्यमान काभ्रेली गुण्डामा परिचित छन् । सत्यमान क्रसर तथा बालुवा खानी, बुद्धचित्त, रक्तचन्दन लगायतका काण्डमा मुछिएका थिए ।

२०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट काण्डमा सत्यमान पक्राउ परेपछि एमालेकी तत्कालीन सांसद नवीना लामा छुटाउन काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयमा पुगेर प्रहरीलाई धम्की दिएकी थिइन् ।

सत्यमानले तेमालमा भूकम्प पीडितका लागि अस्पताल बनाउँछु भनेर १ करोड ७५ लाख ठगेको आरोपमा पनि पक्राउ परेका थिए ।

Published : Monday, 2024 November 18, 2:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया