भ्रष्टाचार र घोटाला काण्डमा निलम्बनमा परेर सफाइ पाएका बैकुण्ठले राजीनामा दिए
काठमाडौं । भ्रष्टाचार मुद्दामा सफाइ पाएका नेपाल सरकारका तत्कालीन मुख्यसचिव डा.बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।
विशेष अदालतबाट सफाइ पाएपछि अर्याललाई नेपाल सरकारले राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी दिएको थियो । भ्रष्टाचार मुद्दा लागेपछि अर्याल निलम्बनमा परेका थिए ।
अर्याल निलम्बनमा परेपछि सरकारले लीलादेवी गडतौलालाई नियुक्त गरेको थियो । गडतौला अवकासमा गएपछि सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको थियो ।
अर्यालले सोमबारदेखि लागू हुने गरी राजीनामा दिएको एक कर्मचारीले बताएका छन् । भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि अर्याल आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए ।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा अर्याललाई लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहितका अभियुक्तविरुद्ध असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
कात्तिक १४ गते विशेष अदालतले अर्याललाई सफाइ दिएको थियो । अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएपछि असार १० गते बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिवसरहको पद सिर्जना गर्दै सरुवा गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया