कांग्रेसको केन्द्रीय कार्यालय एक दिन बन्द रहने, दुई दिन झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले पूर्व सभामुख ढुंगानाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पार्टी कार्यालय एक दिन बन्द राख्ने र श्रद्धाञ्जलि कार्यक्रम गर्ने निर्णय गरेको छ ।
ढुंगानाको ८३ वर्षको उमेरमा काठमाडौंको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा मंसिर २ गते निधन भएको भन्दै कांग्रेसले मर्माहत र स्तब्ध भएको जनाएको छ ।

नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख रहेका थिए ।

ढुंगाना विक्रम संवत् २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवार भएका थिए ।

नेपाली कांग्रेसको विभिन्न पदमा रहेर ढुंगानाले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेस केन्द्रीय कार्यसमितिले स्मरण गरेको छ ।

माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रिया ल्याउन सहजकर्ताको रुपमा समेत ढुंगानाको सक्रिय भूमिका रहेको थियो । मानवअधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुंगानाले पुएको योगदान सदैव स्मरणीय रहने कांग्रेसले जनाएको छ ।

‘दमननाथ ढुंगानाको निधनबाट सिंगो देशले वरिष्ठ कानूनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ’, कांग्रेसले भनेको छ ।

पूर्व सभामुख ढुंगानाको निधनप्रति केन्द्रीय कार्यसमितिले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति कांग्रेसले गहिरो समवेदना प्रकट गरेको छ ।

स्व.ढुंगानाप्रति सम्मान प्रकट गर्दै कांग्रेसले २०८१ मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२०८१ मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय कांग्रेसले गरेको छ । स्वर्गारोहणको १३औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

Published : Monday, 2024 November 18, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया