रास्वपालाई रंग लगाएको स्याल भन्दै खतिवडाले भने– सहकारी ठगलाई कारबाही हुन्छ
चौतारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सहकारी ठगलाई कारबाही हुने बताएका छन् ।
शनिबार चौतारामा सिन्धुपाल्चोक कांग्रेसले आयोजना गरेको कार्यक्रममा खतिवडाले सहकारी ठग जो भए पनि कारबाही हुने बताए । उनले भने, ‘३ महिनासम्म संसदमा सहकारीका ठगहरूका बारेमा छानविन आयोग गठन गरौँ भन्यौँ । कोही बोलेनन् । छानविन आयोग गठन गर्नु पर्दैन भने ।’
‘महामन्त्री गगन थापाजी यहि हुनु हुन्छ । तर्कसहित हामी संसद घेराउ गर्यौँ’, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भने, ‘सहकारी ठगलाई कारबाही गर्नुपर्छ भनेर कतिपय साथीहरू जानु भएन । रिपोर्ट आयो, को हो त्यो हामीले चिनेका थियौँ ।’
उनले भने, ‘गलत मान्छे जो सुकै होस् । हाम्रो र राम्रो भन्दैनौँ हामी । जो सुकै होस् । यदि रामहरि खतिवडा पनि छ । अर्को पनि त्यसमा संलग्न छभने कानूनी कारबाहीमा ल्याउनुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै सभापति खतिवडाले भने, ‘न्यायपालिकालाई प्रभाव पार्ने गरी कुनै पार्टी सडकमा आएका छन् भने त्यो हाम्रो लागि आपत्तिजनक छ । जो सुकै भए पनि कानूनको दायरामा आउँछ । नक्कली स्यालहरू बच्न सक्ने छैनन् । आफ्नो रुप फेर्न सक्ने छैनन् ।’
उनले बाघ बन्न स्यालले रंग लगाएको कथा पनि सुनाएका थिए । उनले पानी परेपछि रंग उत्रिएपछि स्यालको नक्कली कुरा उदाङ्गो भए जस्तै रास्वपा पनि नक्कली स्याल भएको बताए ।
सहकारी ठगका अभियुक्त रास्वपाका सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । लामिछानेलाई छुटाउन दवाव दिन रास्वपाका केही नेता र कार्यकर्ताहरू सडकमा उत्रिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया