लुम्बिनीको राजधानी जग्गा एकीकरण आयोजनाका अध्यक्ष बस्नेतद्वारा पदभार ग्रहण
मसुरिया । लुम्बिनी प्रदेशको राजधानी निर्माण ‘जग्गा एकीकरण आयोजना संचालन समिति’का अध्यक्ष सुशीलकुमार बस्नेत ‘सुनिल’ले पदभार ग्रहण गरेका छन् ।
आइतबार बस्नेतले देउखुरीको मसुरियास्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नुभन्दा अगाडि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग पद तथा गोपनीयताको शपथ लिएका थिए ।
राप्ती गाउँपालिका–१ भालुबाङ निवासी बस्नेतलाई कार्तिक १२ गते बसेको पूर्वाधार विकास समितिको २१औं बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।
लुम्बिनी प्रदेशको राजधानी शहर निर्माणका लागि २० वर्षे योजना निर्माण गरिएको छ । योजना कार्यान्वयन गर्न एक खर्ब बढी बजेट लाग्ने अनुमान छ ।
पाँच वर्षको लागि २५ अर्ब लगानीको खोजीमा प्रदेश सरकार जुटेको छ । लगानी सुनिश्चित गरेर हरित र सुविधा सम्पन्न शहर निर्माणको योजना बनाइएको छ । प्रदेश सरकारले विदेशी दातृ निकायसंग पहल गरिरहेको छ ।
२०७७ असोज २० गते बसेको प्रदेश सभा बैठकले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय पारित गरेको थियो ।
राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाको वडा नं. १, २ र ३, शीतगंगा नगरपालिकाको वडा नं. ८ र ९ लाई राजधानी क्षेत्रभित्र समेटिएको छ ।
राजधानी क्षेत्रभित्रको १२ हजार विगाह जग्गामध्य यस वर्ष एक हजार विगाह जग्गालाई एकीकरण योजनामा राखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया