सहकारी ठगका अभियुक्त लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

आइतबार न्यायाधीश शिशिरराज ढकालले सहकारी ठगका अभियुक्त लामिछाने र अर्का अभियुक्त नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जीको आदेश जारी गरेको हो ।

अदालतले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको छ । लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र काठमाडौं महानगरपालिका–३१ घर भएकी सुनिता नेवा छिन् ।

स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न आरोपमा थप २२ जनाविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भैसकेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् ।

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भीक अनुमान छ । लामिछाने र जोशीमाथि रुपन्देहीमा पनि बयान लिएर प्रहरीले पोखरा राखेको छ । हिरासतमा रहेका लामिछाने र जोशीलाई काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएपछि तनाब भएको छ ।

Published : Sunday, 2024 November 17, 5:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया