खानेपानीको समस्या दीर्घकालीन समाधानका लागि मुहानहरूको संरक्षण गर्नुपर्छ : मन्त्री राणा
घोराही । लुम्बिनी प्रदेशका खानेपानी तथा शहरी विकासमन्त्री रोज राणाले प्रदेशभित्रका सबै उपभोक्ताहरूको घर–घरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्याउने गरी काम अगाडि बढाएको बताएका छन् ।
शनिबार दाङको घोराही उपमहानगरपालिकाको रामपुरमा अजम्वरी खानेपानी बृहत् सरसफाइ उपभोक्ता समिति दाङ घोराहीको १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राणाले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनु र ठूला शहरहरूलाई सफा सुन्दर बनाउने जिम्मेवारी मन्त्रालयको भएको बताए ।
उनले भने, ‘जनताको शुद्ध खानेपानी पिउने सपनालाई मन्त्री र कर्मचारी सबै मिलेर पूरा गर्नुपर्छ । आवश्यक पर्ने बजेटका लागि मैले हर सम्भव प्रयास गर्नेछु ।’
‘जलवायु परिवर्तनका कारण तराईका क्षेत्रमा चैत, वैशाख, जेठमा चापाकल सुकेर पानी आउन बन्द हुने गर्छ’, उनले भने, ‘यो समस्या दाङमा पनि छ । समस्यालाई दीर्घकालीन समाधानका लागि उपभोक्ताहरूले खानेपानीका मुहानहरूको संरक्षण गर्नुपर्छ ।’
मन्त्री थापाले गरिब, निमुखा तथा दिनभरि मजदुरी गरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खानेपानी वितरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन लुम्बिनी प्रदेशका १२ जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन पनि दिएका छन् ।
योजनाको अनुगमन गर्ने क्रममा जनताका कुरा सुनेर थप ऊर्जा प्राप्त भएको भन्दै राणाले कार्य सम्पादनमा देखिने गरी आफ्नो कार्यकालमा काम गर्ने बताए ।
मन्त्री थापाले बजेट अभावका कारण मन्त्रालयले सोँचेअनुसारको काम गर्न नसकेको बताएका छन् । खानेपानी मन्त्रालयको एक घर एक धारा नीतिलाई कार्यान्वय गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेपनि बजेटको समस्या हुने गरेकाले बजेटका विषयमा आफूहरू बजेट र स्रोतको खोजीमा बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया