कांग्रेस समानुपातिक सांसद विमलाको गृहजिल्लामा अन्त्यष्टि
काठमाडौं । नेपाली कांग्रेसकी गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको गृहजिल्ला म्याग्दीमा अन्त्यष्टि भएको छ ।
शनिबार उनको पार्थिव शरीरलाई पोखराबाट म्याग्दी लगिएको छ । डेंगुको उपचारका क्रममा बुधबार राति निधन गौचनको शव गण्डकी प्रदेश सभा प्रांगणमा श्रद्धाञ्जलि दिएपछि म्याग्दी लगिएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, प्रदेश सभा सदस्य, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, आफन्तहरू र सर्वसाधारणलगायतले उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
गौचनको पार्थिव शरीरमा मुख्यमन्त्रीले राष्ट्रिय झन्डा ओढाएका थिए । सभापति शर्माले पार्टीको झन्डा र थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनसँगै प्रतिनिधिसभा सदस्य योगेश गौचनले थकाली सेवा समाजको झन्डा ओढाएका छन् ।
काठमाडौंको ग्रान्डी अस्पतालमा डेंगुको उपचारका क्रममा उनको बुधबार राति ६३ वर्षको उमेरमा निधन भएको थियो । मुस्ताङको कोबाङमा विक्रम संवत् २०१८ असार १८ गते जन्मिएकी गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ ।
गौचन नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा चुनिएकी थिइन् । गौचन राजनीतिसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय थिइन् । स्व.गौचनका एक छोरा र एक छोरी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया