माफी माग्न प्रचण्डलाई एमालेको चेतावनी

काठमाडौं । एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय मिडियामा दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ ।

शनिबार एमालेको विदेश विभागका प्रमुख रघुवीर महासेठले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी ओलीले चिनियाँ कार्ड खेलेको भनेर माओवादी अध्यक्ष दाहालले दिएको अभिव्यक्ति आधारहीन, गैरजिम्मेवार रहेको बताएका हुन् । महासेठले माओवादी अध्यक्ष दाहालको अभिव्यक्तिप्रति भर्न्सना गरेका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लिएर माओवादीका अध्यक्ष दाहालले भारतीय मिडियामा चाइना कार्ड खेल्न लागेको भनेर निकै तल्लो तहको निच अभिव्यक्ति दिएका थिए । दाहालको सो अभिव्यक्तिको विरोध भइरहेका बेला एमालेले पनि भर्त्सना गरेको छ ।

एमालेले दाहालको अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता र परराष्ट्र नीतिमा समेत क्षति पुगेको जनाएको छ । एक सार्वभौम सत्तासम्पन्न मुलुकको प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्ने निर्णय स्वतन्त्र रूपमा गर्न सक्ने र त्यसका लागि बाह्य स्वीकृति आवश्यक नहुने एमालेले जनाएको छ ।

एमालेले विज्ञप्तिमा भनेको छ, ‘प्रचण्डको भनाइले नेपालले आफ्ना दुई छिमेकी भारत र चीनसँग कायम रखेको सन्तुलनलाई कमजोर बनाउँछ, जुन दुवै नेपालको विकास र समृद्धिको हिस्सा हुन् ।’

‘यस्ता विचारहीन टिप्पणीले यी राष्ट्रहरूसँगको साझेदारीलाई खतरामा पार्न सक्छ’, एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले माओवादीका अध्यक्ष दााहललाई आफ्नो अभिव्यक्ति तत्काल फर्ता लिएर नेपाली जनतासँग माफी माग्न चेतावनी दिएको छ ।

एमालेले भनेको छ, ‘एमाले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहो¥याउँदै पुष्पकमल दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।’

प्रचण्डले भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको अन्तर्वार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको विषयमा टिप्पणी गर्दै चिनियाँ कार्डको आरोप लगाएका हुन् । प्रधानमन्त्री ओली मंसिर २७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा छन् ।

Published : Saturday, 2024 November 16, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया