क्रसर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने, पूरै कार्यसमिति सर्वसम्मत

बर्दिबास । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा सीताराम न्यौपाने दोहोरिएका छन् ।

महोत्तरीको बर्दिबासमा शनिबार सम्पन्न दशौँ र एघारौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

न्यौपानेको नेतृत्वमा २१ सदस्य नयाँ कार्यसमिति सर्वसमम्त निवार्चित भएको छ । मुलुकमा अर्थतन्त्रले लय लिन थालेका बेला समस्यामा रहेका क्रसर व्यवसायीहरू विभाजन भन्दा पनि मिलेर जाँदा राम्रो हुनेभन्दै नयाँ कार्यसमितिलाई सर्वसम्मत बनाएका छन् ।

बर्दिवासमा सम्पन्न अधिवेशनबाट ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी चयन भएका छन् ।

उपाध्यक्षहरूमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेश प्रदेशबाट रामनारायणप्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लीलाधर बराल, लुम्बिनी प्रदेशबाट मीनबहादुर शाही निर्वाचित भएका छन् ।

महासचिवमा देवराज तामाङ निर्वाचत भएका छन् । सचिवमा उम्मेदवारी परेको छैन । सचिव पद रिक्त रहेको उपाध्यक्ष मीनबहादुर शाहीले बताएका छन् ।

महासंघको सहसचिवमा बुद्धिप्रसाद आचार्य, कोषाध्यक्षमा बेचन ठाकुर वरही र सहकोषाध्यक्षमा विनोदराज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरूमा हुमनाथ पौडेल, कुमार गिरी, तिलप्रसाद पाठक, अनोदकुमार देवकोटा, विकासनारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशिकुमार यादव, सन्तोष यादव सर्वसम्मत निर्वाचित भएका छन् ।

महासंघको अध्यक्षमा सर्वसम्मत भएका न्यौपाने क्रसर व्यवसायका अधिकांश समस्याहरू अघिल्ला तीन वर्षहरूमा सरकारवाला निकायलाई अवगत गराएका छन् । उनले अगामी तीन वर्ष त्यस्ता समस्याहरू समाधान गर्न थप मेहनत गर्ने बताएका छन् ।

बर्दिबासको साधारण सभा तथा महाधिवेशनमा देशभरबाट करिब ७८० जना प्रतिनिधिहरूको सहभागिता थियो ।

Published : Saturday, 2024 November 16, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया