बागमतीका मुख्यमन्त्री सिंहद्वारा आईजीपी कुँवरलाई स्मार्ट फोनहरू हस्तान्तरण

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई डिजिटल सवारी चालक अनुमति पत्रको नियमनको लागि ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरेका छन् ।

शुक्रबारर ललितपुरमा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लामाले आईजीपी कुँवरलाई स्मार्ट फोन हस्तान्तरण गरेका हुन् । ती स्मार्ट फोनहरू ट्राफिक प्रहरीलाई प्रदान गरिनेछ ।

मुख्यमन्त्री लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताएका छन् । नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने लामाले बताएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको बताए ।

कुँवरले बागमती प्रदेश सरकारबाट प्राप्त भएका स्मार्ट फोनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताएका छन् । प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकोले सरोकारवाला निकायको सहयोग र समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाह गर्न सहजीकरण हुने कुँवरले बताए ।

समग्रमा ट्राफिक प्रहरी कर्मचारीहरूको समेत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको आईजीपी कुँवरले बताएका छन् ।

Published : Friday, 2024 November 15, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया