बैंककमा अध्यक्ष अन्सारीद्वारा सम्बोधन, विश्वले सहअस्तित्व नेपालबाट सिक्न सक्नुपर्ने

बैंकक । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वले सहअस्तित्व नेपालबाट सिक्न सक्ने बताएका छन् ।

थाइल्याण्डको राजधानी बैंककमा भएको ग्लोबल मिट २०२४ लाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले नेपालको विविध संस्कृतिले संहिष्णुता र सहकार्यलाई कसरी प्रेरित गर्दछ भन्ने विषयमा विशेष जोड दिएका छन् ।

शुक्रबार बैंककस्थित रोयल थाई आर्मी क्लबमा आयोजित ग्लोबल मिट २०२४ मा नेअध्यक्ष अन्सारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा ३० भन्दा बढी देशका विशिष्ट व्यक्तित्वहरू सहभागी भएका थिए । मानवअधिकार, शान्ति र अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई उनले उजागर गरेका छन् ।

अध्यक्ष अन्सारीले भने, ‘नेपालका विविध संस्कृतिहरूले हामीलाई सहअस्तित्वको पाठ सिकाएको छ। यो शान्ति र सहयोगको भावना नै हामीले विश्वलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार हो ।’

उनले शिक्षा, विज्ञान, र संस्कृतिलाई शान्ति र समृद्धिको मुख्य आधारस्तम्भका रूपमा औंल्याउँदै गुणस्तरीय शिक्षाको पहुँचलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष अन्सारीले थाई आर्मीका विशिष्ट अधिकारीहरूलाई उत्कृष्ट सेवाका लागि पुरस्कार वितरण गरेका छन् । उनले शान्ति र विकासका क्षेत्रमा थाई सेनाको योगदानको प्रशंसा गरेका छन् ।

ग्लोबल मिटमा थाई आर्मीका जनरल तथा उच्च अधिकारीहरूसहित नेदरल्याण्ड, जापान, इन्डोनेसिया, हङकङ, भारत र थाइल्याण्डलगायतका देशका उच्चस्तरीय प्रतिनिधिहरू उपस्थित थिए ।

सहभागीहरूले शान्ति स्थापना, शिक्षा, र मानवअधिकार प्रवर्द्धनका विविध दृष्टिकोण र अनुभवहरू आदानप्रदान गरेका छन् ।

ग्लोबल मिट २०२४ ले विकासशील देशहरूमा मानवीय सहायता, स्वास्थ्य सेवा, र शिक्षा प्रवर्द्धनमार्फत शान्ति स्थापना र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रमको समापनमा अध्यक्ष अन्सारीले यस्तो महत्वपूर्ण मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न पाएकोमा गर्व व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्ष अन्सारीले भने, ‘यो बैठक शान्ति र समृद्धिका लागि हाम्रो साझा प्रतिबद्धताको प्रतिबिम्ब हो । आगामी दिनमा पनि यस मञ्चले विश्वव्यापी सहयोगलाई बलियो बनाउन योगदान पुर्‍याउनेछ भन्ने विश्वास छ ।’ उनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइँमा पुर्‍याउने अपेक्षा गरका छन् ।

Published : Friday, 2024 November 15, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया