विद्युत निर्यातमा बंगलादेशसँगको कूटनीतिक प्रयासले सार्थकता पायो : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालबाट बंगलादेशमा विद्युत निर्यातको औपचारिक सुरुआत भएकोमा खुसी लागेको बताएकी छिन् ।
शुक्रबार प्रेस नोट जारी गरेर मन्त्री डा.राणाले भनिन्, ‘आजदेखि नेपालबाट बंगलादेश विद्युत निर्यातको औपचारिक सुरूआत भएकोमा खुसी लागेको छ ।’
उनले भनिन्, ‘नेपालको विद्युत् व्यापारको इतिहासमा भारतपछिको अर्को देश विद्युत निर्यात गरिएको यो नै पहिलो पटक हो । यसलाई क्षेत्रीय विद्युत् व्यापारको एक ऐतिहासिक कोशेढुंगा मान्न सकिन्छ ।’
भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बंगलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबारबाट विद्युत् निर्यातको कार्य सुरू भएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘मेरो गत अगष्टमा भएको भारत भ्रमणका क्रममा भारतले थप दुई सय ५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरी नेपालबाट १० बर्षमा १० हजार मेगावाट विद्युत खरिदको औपचारिक सुरूआतको घोषणा गरेको थियो ।’
‘त्यसपछि विद्युत निर्यातका लागि बंगलादेशसँग गरिएको कूटनीतिक प्रयासले पनि आज सार्थकता प्राप्त गरेकोमा खुसी लागेको छ’, मन्त्री राणाले भनिन् ।
‘बंगलादेशमा विद्युत् निर्यातका लागि सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयात गर्ने बंगलादेश सरकारलाई विशेष धन्यवाद छ’, उनले भनिन् ।
‘नेपालको बिद्युत् उत्पादन र बजारको सम्भावनाको थप विस्तारका लागि हाम्रा कूटनीतिक प्रयास र पहलहरू जारी नै रहेकाले आगामी दिनमा पनि यसैगरी सबैको सहयोग एवं समन्वयको अपेक्षा गर्दछौँ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया