जोसुकै नेता मुछिएपछि दोषी देखिए कारबाही हुन्छ, कांग्रेसकाे अवरोध हुँदैन, सहयोग हुन्छ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सहकारी प्रकरणमा पार्टीको जोसुकै नेता मुछिएपछि दोषी देखिए कारबाही गर्ने आफूहरूले अवरोध नगर्ने बताएका छन् ।

शुक्रबार नेपाल प्रेस युनियन रुकुम पश्चिमले सदरमुकाम मुसिकोट खलंगामा गरेको पत्रकार सम्मेलन बोल्दै प्रश्न उठेकाहरूमाथि छानबिन गर्न पार्टीले भनिसकेको बताए ।

उनले भने, ‘हाम्रो पार्टीको पनि जोसुकै होस् छानबिनको प्रक्रियालाई अवरोध गर्ने काम हामीबाट हुँदैन । आधार प्रमाण भए अनुसन्धान प्रक्रिया अघि बढाए हुन्छ भनेका छौँ । हामी सत्तामा भएको कारणले कसैलाई बचाउने कसैलाई प्रक्रियामा ल्याउने भन्ने लक्ष्य छैन । सबै कुरा निष्पक्ष हुन्छ । कांग्रेसले कसैलाई विभेद गरेको छैन ।’

उनले रवि लामिछानेको विषय अदालतमा भइसकेकाले बोल्न आवश्यक नभएको बताए । उनले भने, ‘रविजीको बारेमा संसदीय छानबिन समितिले सर्वसम्मत नाम नै तोकेर रवि लामिछानेसहित चार जनालाई कारबाहीको लागि सिफारिस गरेको छ । त्यसपछि सरकार अनुसन्धान निकायहरूले गर्‍यो ।´

डा.महतले भने, `उहाँहरूले केही आधार देखेर नै प्रक्रिया अघि बढाएको होला । अदालतले पनि केही आधार देखेर थुनामा राखेको हो। अब त्यो अदालतको हातमा गइसक्यो । अब अदालतले बोल्छ, हामीले केही भन्नुपर्ने छैन। निर्दोष भए अदालतले सफाइ दिन्छ, दोषी भएर कारबाही हुन्छ ।’

Published : Friday, 2024 November 15, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया