महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन्ः परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भएकाे भन्दै चुनौतीहरू पनि रहेकाे बताएकी छिन् ।
युएन वुमनद्वारा साेमबार काठमाडौंमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा.राणाले ३० बर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरूको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैंगिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएका बताइन् ।
उनले भनिन्, “मलाई लाग्छ नेपालका महिलाहरूले अहिले प्राप्त गरेका संवैधानिक लगायतका अधिकारहरूको बिजारोपण ३० बर्षअघिको बेइजिङ सम्मेलनमा भएको हो । सो चौथो विश्व महिला सम्मेलनले लैंगिक समानता, महिला सशक्तीकरण, महिला विरुद्धका हिंसाको उन्मूलनलगायतका १२ ओटा क्षेत्रका प्रतिबद्धता अघि सारेको थियो ।”
बेइजिङ सम्मेलनमा आफ्नो सक्रिय सहभागिता रहेको उनले बताइन् । त्यसयता नेपालका महिलाहरूले अघि बढाएको अभियानले देशमा महिलाका क्षेत्रमा धेरै काम भएका तथा प्रजनन् स्वास्थ्यदेखि धेरै अधिकारहरू महिलाले संवैधानिक रुपमै प्राप्त गरेका डा. राणाले बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले सो सम्मेलनपछिका ३० बर्षमा महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा उल्लेखनीय प्रगति भएपनि अझै धेरै काम गर्न भने बाँकी रहेको बताएकि छिन् ।
उनले भनिन्, “महिला र यहाँका बालिकाहरूले आर्थिक सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा समान पहुँच आदि क्षेत्रमा अहिले पनि चुनौतीहरूको सामना गर्नु परिरहेको छ । यसबारेमा पनि सोच्नुपर्छ र तिनको समाधानका लागि सरकार र नागरिक समाज एकताबद्ध भइ अघि बढ्नुपर्छ ।”
मन्त्री डा.राणाले बालिकाहरूको विद्यालय भर्ना, श्रम बजारमा महिलाको सहभागिता, मातृ स्वास्थ्य, बालबिवाहमा न्यूनीकरण एवं सम्पत्तिमा महिला अधिकार आदि क्षेत्रका सूचकांकमा नेपालले प्रगति गरेको बताएकि छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले संवैधानिक र कानूनी प्रत्याभूतिका कारण नेपालमा पनि राजनीतिमा महिला सहभागिता बढ्दै गएको बताएकी छिन् । उनले महिलामाथि हुने गरेका विभेद र डिजिटल युगमा बढ्दो भ्रमपूर्ण सूचनाले महिलालाई बढी तारो बनाउने गरेको आफूले पाएको बताइन् ।
उनले भनिन्, “बढ्दो डिजिटल युगसँगै गलत सूचनाहरुले महिलालाई बढी शिकार बनाएको मेरो अनुभव छ । जस्तो कि यहाँ मेरा बारेमा पनि कतिधेरै गलत सूचनाहरू सप्रेषण गरिएका थिए । विश्वका महिला नेतृहरूको पनि यस्तै अनुभव रहेछ । म हालै सहभागी भएको क्यानाडा र संयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका महिला नेतृहरुले पनि यो अनुभव सेयर गर्नुभएको थियो ।”
उनले यी सबैखाले चुनौतीविरुद्धमा लडेरै अघि बढ्नुपर्ने बताएकी छिन् । उनले भनिन्, “महिला सशक्तिकरणका लागि हामीले बाटो बनाएका छौँ । हामीले दिशा पनि निर्धारण गरेका छौँ । हामीले कामका लागि गति सिर्जना गरेका छौँं । कहिलेकाहीँ यो बाटोबाट पछाडि धकेल्ने प्रयासहरू हुने भएकाले प्राप्त गरेका उपलब्धिहरूको रक्षागर्दै थप उपलब्धिका लागि अझ अघि बढ्दै जानुपर्छ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया