सभापति देउवाद्वारा छठ पर्वको अवसरमा शुभकामना व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको शुभ–कामना दिएका छन् ।
बिहीबार सभापति देउवाले शुभकामना सन्देश दिँदै भनेका छन्, ‘नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व छठ पर्वका अवसरमा सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदी–बहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गर्दछु ।’
‘नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरू भएको मुलुक हो’, देउवाले भने, ‘यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ ।’
उनले भने, ‘हाम्रा यी सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरू हुन् । यी चाड–पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन् ।’
‘अति श्रद्धाका साथ मनाइने छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः हार्दिक शुभ–कामना व्यक्त गर्दछु’, सभापति देउवाले भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया